काठमाडौं– कवि सृजना अर्याल अधिकारीको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ ।
कवितासंग्रहमा नेपालबाट युवा पुस्ता विदेशिने र देश वृद्धाश्रम हुने अवस्थाको चित्रण गरिएको छ । देशको दुर्गमता, विकटता, यहाँका दुखेसोहरु कविताले बोलेको छ । कवि सृजनाको बोध अन्तर्बाेध कवितासंग्रह प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र माता लक्ष्मी अर्यालले एक कार्यक्रमकाविच लोकार्पण गरेका हुन् ।
छिमेकी अतिक्रमणको व्यवहार, राष्ट्रको स्वाभिमान, पूर्खाको गौरवको गुणगान र देशका लागि जिवन बलिदान गर्ने पुर्खाको संस्मरण पनि यस संग्रहमा रहेको समालोचक डा. रामहरि लम्साल बताउँछन् । भुकम्प, महामारी लगायत प्राकृति प्रकोपले आम नागरिकलाई दिने पीडा पनि यस कविता मार्फत सृजनाको दृष्टि पुगेको उनको भनाई छ ।
एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छन् । सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेधभित्रका कविताले कवि शीरोमणिको कविताको स्वाद दिलाएको मदन पुरस्कार विजेता कवि नवराज लम्सालको बुझाई छ ।
बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका पाका कवि तथा साहित्यकारहरुले कविता मार्फतनै सृजनालाई शुभकामना दिए । साथी समकक्षीले पनि सृजनाको साहित्यिक सफलताको प्रशंसा गर्न भ्याए ।
भर्खरै उदाउदै गरेकी कवि सृजनाले पनि बोध अन्तर्बाेध कवितालाई आफ्नो चौथो सन्तानको रुपमा लिएकी छिन् । देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाहक भयावह अवस्थाको चित्रण गरिएको उनको भनाई छ ।
जिन्दगीको कष्टसाध्य अवस्था र इस्र्यामुक्त समाजको कल्पना कवितामा व्यक्त भएको छ भने ६ वटै ऋतुहरुको परिवर्तनको समिक्षा गरिएको छ । मान्छेको वाध्यता र परिस्थितिलाई पनि कविताको माध्यमबाट व्यक्त गरिएको छ ।
बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणसंगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप