काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिकामा दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सोमबारबाट सुरु भएको छ । खोप अभियान सुरु गरेको पहिलो दिन नै ३७ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् ।
उत्साहका साथ अभिभावकले बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लिएर आएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए । ‘नीलकण्ठ नगरपालिका भित्र ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका ३ हजार ७ सय ६४ जना रहेका छन् । आज मात्रै पनि १ हजार ३ सय ९३ जना अर्थात ३७ प्रतिशतले खोप लगाइसकेका छन्’ उनले भने ।
धादिङको नीलकण्ठ नगरपालिकाले दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सोमबारबाट सुरु गरेको हो । धादिङ अस्पतालको खोपकेन्द्र संस्थागत क्लिनिकमा एक कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गरेको हो ।
कार्यक्रमको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिका भित्र रहेका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने बताए । ‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन २१ देखि २७ गतेसम्म नगरपालिकाभर सञ्चालन गर्दैछौं । ३६ खोप केन्द्र मार्फत खोप लगाइन्छ । सरकारले पनि २०२६ सम्ममा यो रोग निवारण गर्ने भनेर लागेको छ । विगतमा पनि हामीले दादुरको खोप अभियान सफलतापूर्वक सञ्चालन गरेका थियौं । यस वर्ष पनि सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउने छौं’ उनले भने ।
पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले दोस्रो चरणको रुबेला खोप फागुन २१ गतेबाट २७ गतेसम्म सञ्चालन गर्ने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।