काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीन मध्ये दुई जनाको शव फेला परेको छ ।
कपिलबस्तुको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार एकाविहानै त्रिशुली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव बिहिबार दिउँसो फेला परेको हो । दुइ जनाको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या नौं जना पुगेको छ ।
गैरेको शव दुर्घटनास्थल भन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा नदीमा शव फेला पारेको जैसवारले जानकारी दिए ।
बसमा सवार रहेका प्रकाश पाठक अझै हराइरहेका छन् । खोजी कार्य जारी छ । दुर्घटनामा ३९ जना घाइते भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप