काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनिति बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि वृहत रणनिति आवश्यक रहेको बताएका छन् । जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको भन्दै स्थानीयस्तरका लागि विस्तृत कार्यक्रमको आवश्यकता रहेको बताए । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्ने कुरालाई समेत उनले जोड दिए ।
‘जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ । पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको छ । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ, यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा पारेका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप