काठमाडौं– चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा चार लाख ७१ हजारभन्दा धेरै नेपाली रोजगारीको लागि विदेश गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्ममा चार लाख ७१ हजार दुई सय १० जना नेपाली नागरिक कामको लागि विदेशिएका छन् । तर यो सङ्ख्या पोहोरको आठ महिनाको तुलनामा भने १३ प्रतिशतले कम हो ।
विभागका अनुसार गएको आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा पाँच लाख ४० हजार ६ सय जना नेपाली कामको लागि विदेशिएका थिए । चालू आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार दुई सय ७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार छ सय २२ जना विदेशिएका छन् ।
वैदेशिक रोजगारीका गन्तव्यमध्ये यूएई सबैभन्दा धेरै नेपालीको गन्तब्य बनेको छ । फागुनमा मात्रै १८ हजार सात सय सात जना नेपाली युवाहरु रोजगारीका लागि यूएई पुगेका छन् ।
विदेशिने नेपालीको सङ्ख्या घटे पनि रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यङ्क अनुसार चालू आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
रेमिट्यान्स गएको वर्षको सात महिनाको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप