काठमाडौं– प्रहरीले भिसा अवधि सकिएपछि गैरकानुनी रुपले नेपालमा बसेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई अहिले काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास र ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार बङ्गलादेशी नागरिक फरक–फरक मितिमा नेपाल प्रबेश गरी गैरकानुनी रुपले बसोबास गरेका थिए । साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
विश्वास र मियाँ यही चैत ९ गते पक्राउ परेका थिए भने अन्य तीनजनालाई हिजो पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप