काठमाडौं– राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गरेका छन् ।
निरीक्षण अवलोकनपछि ऊर्जामन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताए ।
ऊर्जामन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले शुक्रबार आयोजनाको बाँधस्थल निरीक्षण गरेको थियो । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएका थिए ।
तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।
विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप