|उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ का ६८ वर्षिय दिलबहादुर परियार र उनका श्रीमती काली परियार कपडा सिलाउदै ।
काठमाडौं– सानो त्यो पनि आफन्तको घर । सानै कोठा त्यहि खाना पकाउने खाने, एउटा कुनामा केही थान कपडाहरु । पिँढीमा दुई थान सिलाई मेसिन, त्यही मेसिनमा कपडा सिलाउदै गरेका धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ का वृद्ध दिलबहादुर परियारको दम्पत्ति । उनीहरु भन्छन्– ‘नाडीमा मसी र आँखामा दृष्टि हुन्जेल कसैको भर पर्नु हुन्न ।’
कपडा सिलाएरै घर खर्च चलाउने गरेको दिलबहादुर परियार बताउँछन् । ‘सानै छदा सिकेको पुर्खाैली सीप अहिले बुढेसकालमा पनि जीउने सहारा बनेको छ’ उनले भने– ‘अरु काम गर्न सकिन्न । हातमा भएको सीप पनि यहि हो । खान लाउन दुख छैन । डाँडापारीको घाम भयौं । कतिन्जेल सकिन्छ, अहिलेसम्म चाँहि सन्तुष्ट छौं ।’
दिलबहादुरको खास घर कटुञ्जे हो । तर पुर्खादेखि नै उनको परिवार सेमजोङ बस्दै आएका हुन् । सानै उमेरदेखि सिलाई बुनाई गरेर हुर्केका दिलबहादुरले बालीमा पनि काम गरे । उनले भने– ‘बालीमा काम गर्दा पनि खान दुख थिएन । वर्षदिन भरी काम गरिन्थ्यो । मुठी र मानो भरेर दिन्थ्यो, गुजारा चल्थ्यो । तर करिव १५ वर्षदेखि बालीको काम छाडेर पैसामा काम गर्न थालियो । त्यसपछि सहज भएको छ । लुटी ल्याउनी भुटी खानी भन्या जस्तो यो कामले भोको चाँहि राखेको छैन ।’
दिलबहादुरलाई मात्र होइन उनकी श्रीमती काली परियार पनि सँगसँगै कपडा सिउँछिन् । डाँडापारीको घाम बनेपनि आफ्नै कमाइले रमाउन पाउदा खुषी लागेको उनको अनुभव छ । ‘पहिले गाउँमा टेलर कम थिए । आम्दानी अलि ज्यादा थियो । मासिक २५/३० हजारसम्म कमाइ हुन्थ्यो । अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । हाम्रो कमाइ पनि कम हुदै गएको छ । महिनामा १५/२० हजार त घर खर्च नै हुन्छ । तैपनि हामी बुढाबुढीलाई खर्च पु¥याएर गाउँमा छोराबुहारीलाई पनि खर्च पठाउन पुगेको छ’ उनले भनिन् ।
परियार दम्पत्तिको तीन भाई छोरा छन् । कान्छो छोरासँग बसेपनि उनीहरु सेमजोङ र छोराबुहारी कटुञ्जे बस्छन् । पैसा कमाउन छोरा कुवेत पुगेर आयो तर अहिले रोजगार नभएको परियार दम्पत्ति बताउँछन् । त्यसैले ढिडोफाडो खाएर पनि स्वदेशमै कमाउने र रमाउन ठिक लागेको उनीहरुको भनाई छ ।
उत्तरी धादिङको दुर्गम क्षेत्रमा पर्ने सेमजोङमा सिलाई बुनाई गरेर जिविको चलाउदै आएका दिलबहादुरको दम्पत्तिको गाउँमा सबैले प्रशंसा गर्छन् । हातमा सीप र ज्यानमा जागँर छ भने गाउँ र शहर अनि पेशा जुनसुकै भएपनि मानिसलाई भोको रहन दिदैन भन्ने उदाहरण बनेका छन्, परियार दम्पत्ति ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप