काठमाडौं– विकटमा पर्ने उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका स्थानीयले एम्बुलेन्स सेवा पाउने भएका छन् । एम्बुलेन्स संचालनमा आएपछि विरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको हो । उच्च पहाडी क्षेत्रको विकट वस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन हिमालयन हेल्थ केयर नेपाल नामक सामाजिक संस्थाले गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक एम्बुलेन्स सहयोग उपलब्ध गराएको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताए । ‘जेनतेन सवारी चल्न सुरु गरेको रुवीभ्यालीमा एम्बुलेन्स संचालनमा आएपछि विरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ ।’ उनले भने– ‘सडक सञ्जाल र एम्बुलेन्स नहुँदा वर्षमा ५० पटक भन्दा बढी हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल लाने गरियो ।’
‘पोहोरसम्म सडक थिएन, पुल नहुँदा गाडी चल्न सक्ने थिएन । यो वर्ष धादिङबेसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण पनि भएको छ । अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स संचालन हुँदा स्थानीयले मोटो रकम तिर्न नसक्ने स्थानीयले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ’ उनले भने ।
मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीका स्थानीय पनि एम्बुलेन्स पाएसँगै खुसी भएका छन् । एम्बुलेन्स संचालनको लागि छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले बताए । एम्बुलेन्स रुवीभ्याली आधारभुत अस्पतालले सञ्चालन गर्ने छ ।
गाउँपालिकासँग तीन दशकदेखिको सहकार्य गर्दै आएकोमा अहिले एम्बुलेन्स सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकिय अधिकृत कुलमणी बस्नेतले बताए । आगामी दिनमा गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरिने उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप