काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेको बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् । धादिङको चर्चित र ठूलो संख्यामा विद्यार्थीहरु रहेको नीलकण्ठ मावि र बालमन्दिर मावि सहित तीन सामुदायिक विद्यालय समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरुले विरोध गरेका हुन् ।
ठूलो संख्यामा विद्यार्थी रहेको बाल मन्दिर माध्यामिक विद्यालयलाई विना छलफल र जानकारी विनै अर्काे विद्यालयमा गरेको समायोजनले विद्यालयको अस्तित्व गुम्ने र शिक्षाको गुणतर खस्किने भन्दै समायोजनको विरोधमा आन्दोलनमा उत्रेका हुन् । बालमन्दिर माध्यामिक विद्यालय पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउने अस्तित्वको लडाईमा अभिभावकहरु रहेको बालमन्दिर बचाउ आन्दोलनका अगुवा तथा बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दिपक अधिकारीले बताए ।
सामुदायिक विद्यालयमा पढी रहेका बालबालिकाहरुलाई निजि विद्यालयमा पठाउने षडयन्त्र रहेको उनले बताए । ‘म बालमन्दिर विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष हुँ । तर विद्यालय मर्ज भएको मलाई नै थाहा छैन । म मात्र होइन बालमन्दिर माध्यामिक विद्यालयका धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई जानकारी छैन’ उनले भने– ‘कति अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गर्न जादा विद्यालय अन्तै गाभिएको जानकारी पाए । केही विद्यार्थीलाई त साथीभाइले त पनि अब नीलकण्ठ मै पढ्ने त हो नि भनेपछि थाहा पाए । सिमित मानिसहरुको राजनितिको लागि ११ सय विद्यार्थीको भविष्यसँग खेल्न मिल्छ ?’
नीलकण्ठ नगरपालिकाले ११ गतेसम्म विद्यालयलाई समायोजन गरेको निर्णय बदर नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष अधिकारीले बताए । ‘यदि ११ गतेसम्म दिइएको अल्टिमेटम टाइममा माग पुरा नभए १२ गते बुधबारबाट नगरपालिकामा आमरण अन्सन बस्छौं । अन्सन बस्दा भएको क्षति नीलकण्ठ नगरपालिकाले व्यहोर्नुपर्ने हुन्छ’, उनले भने– ‘त्यति गर्दा पनि माग पुरा नभए कानुनी ढोका ढकढकाउन बाध्य हुन्छौं । शिक्षा मन्त्रि सुमना श्रेष्ठसँग पनि कुरा भइ रहेको छ । आशा छ स्थानीय सरकारले नै हाम्रो माग, बालमन्दिर माध्यामिक विद्यालयको अस्तित्व बचाउन सहयोग गर्ने छ ।’
आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय समायोजनको निर्णय फिर्ता गर्न र गराउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
बालमन्दिर माध्यामिक विद्यालयलाई समायोजन गराउनु उचित नभएको कक्षा १० मा अध्ययनरत छात्रा सहारा तामाङले बताइन् । ‘बालमन्दिर हाम्रो पहिचान हो । बालमन्दिर भनेरै अहिलेसम्म हामी यहि विद्यालयमा पढ्दै आएका छौं । हाम्रो विद्यालयमा जस्तो राम्रो वातावरण अन्त छैन । यहि विद्यालयबाट पासआउट हुन चाहन्छौं । बालमन्दिर बालमन्दिर रहोस्, नीलकण्ठ नीलकण्ठ रहन दिनुहोस् । विद्यालयलाई मर्ज गराउनु उचित हुदैन । हामीलाई मान्य छैन’ उनले भनिन् ।
बालमन्दिरममा पढाई राम्रो छ भनेरै गोर्खादेखि छोराछोरी बालमन्दिरमा ल्याएर पढाएको हिरा कुमाल बताउँछिन् । बालमन्दिर जिल्लामा चलेको र हामीलाई मन मरेको स्कुल हो । उनले भनिन्– ‘छोराछोरी पढाउन हामी बोर्डिङ स्कुलबाट बालमन्दिरमा ल्याउने, नगरपालिका विद्यालयलाई नै मर्ज गर्दिने । मर्ज भनेको नबुझेँर छोरीलाई सोधेँ । बालमन्दिरलाई नीलकण्ठमा गाभेको सुन्दा भिरबाट खसेको जस्तै भएँ । हिजोको बालमन्दिर आज त्यस्तै हुन पर्याे, नीलकण्ठमा गाभिएर बालमन्दिरको अस्तित्व मेटाउन चाहदैनौं ।’
नयाँ वर्षकै अवसर पारेर नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले २०८० चैत ३० गते नीलकण्ठ नगरपालिका भित्र रहेको धादिङबेसीका चर्चित दुई ठुला नीलकण्ठ माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालय सहित इजारा आधारभूत विद्यालयलाई समायोजन गरेको हो । नीलकण्ठ माध्यामिक विद्यालयमा करिव २७ सय, बालमन्दिरमा करिव ११ सय र इजारा आधारभूत विद्यालयमा करिव ७५ जना विद्यार्थी रहेका छन् ।
नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय भनेर नामाकरण गर्ने प्रस्ताव गरिएको समायोजनपछिको विद्यालयमा यि तीन विद्यालयका विद्यार्थी बाहेक बाहिरबाट आएका बालकक्षादेखि कक्षा ९ सम्म ३ सय २५ जनासम्म मात्र भर्ना गर्न सकिने भनेर कोटा निर्धारण गरि नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागि पठाइएको हालको नीलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए । नयाँ विद्यार्थीका लागि प्रवेश परिक्षा शुक्रबार लिने तयारी रहेको छ । हालसम्म पाँचसयको हाराहारीमा विद्यार्थीले आवेदन दिएको उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप