किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माण भएसँगै उत्तरी धादिङ सडक सञ्जालको सहज पहुँचमा

  • २०८१ बैशाख १७, सोमबार (६ महिना अघि)
  • ३९६२ पटक पढिएको
किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माण भएसँगै उत्तरी धादिङ सडक सञ्जालको सहज पहुँचमा

काठमाडौं– उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्ग अन्तर्गत किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माण गरिएसँगै उत्तरी धादिङकोे विकासको ढोका खुलेको छ । उत्तरी धादिङलाई जिल्ला सदरमुकामसँग जोड्ने मूख्य मार्ग खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा ट्रयाक खोलिएको झन्डै चार दशकपछि चाइनिज ब्रिज निर्माण भएसँगै ६ महिना मात्र सवारी चल्ने उत्तरी धादिङमा अब बाह्रै महिना सवारी आवागमन हुने भएको हो ।

Advertisement

सडक खन्न थालिएको करिब चार दशकपछि निर्माण गरिएको पुल आइतबार एक कार्यक्रमका विच संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती महारथी प्रभुराम शर्माले संयुक्त रुपमा चाइनिज ब्रिज उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै किन्ताङफेदीमा पुल निर्माण भएसगै उत्तरी धादिङबासीको जीवन नै फेरिने संघीय सांसद रामनाथ अधिकारीले बताए । ‘पुलले उत्तरी धादिङको विकासको ढोका खोलेको छ । उत्तरी धादिङमा सडक सञ्जालको सहज पहुँच बन्यो । अब बाह्रै महिना सवारी चल्दा उत्तरी धादिङको विकासमा टेवा पुग्नेछ’ उनले भने ।

पुल हालिएसँगै उत्तरी धादिङले विकासमा अब फड्को मार्ने खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । खनियाँबास, गंगाजमुना, रुवीभ्याली र नेत्रावती डवजोङ गाउँपालिकाको केही वडाबासीहरु प्रत्यक्ष लाभान्वित बनेका छन् ।

‘उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग हो । पुल नहुँदा बर्खाको ५÷६ महिना सवारी आवतजावत बन्द हुने गर्दथ्यो’ उनले भने– ‘उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने ४२ दशमलव ६७ मिटर लम्बाई, ४ दशमलव.२ मिटर चौडाइको पुल निर्माण भयो । अब बाह्रै महिना बाह्रै काल सवारी चल्नेछ । भाडादर पनि सस्तोभएको छ । भएका उत्पादन पनि बजार पुग्नेछ । उत्तरी धादिङबासीको जीवनशैली नै फेरिनेछ ।’

उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । पुल नहुदा आपतकालिन समयमा ठूलो समस्या व्यहोर्नु पर्याे । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिको दिन शुरु भएको खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाइ छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुदा जीवनस्तरमा पनि सुधार हुने उनले बताए ।

नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि ए र थ्रि बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको खनियाबास गाउँपालिकाका इन्जिनियर जीवन गुरुङले बताए । उनले भने– ‘पुल निर्माणमा १४ बाहिनी अन्तर्गत व्रिजिङ यूनिट गौचरन एयरपोर्टबाट ३५ जना दक्ष कामदार सहितको टोलीले जडान गरिरहेको छ । करिव एक करोड लागत रहेको पुल निर्माणका लािग २५ लाख रकम नेत्रावती डवजोङ गाउँपालिकाले र बाँकी खनियाँबास गाउँपालिकाले व्यहोरेकोे हो ।’

ट्रयाक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् । पुल बनेपछि गाउँमा विकास पुग्ने अपेक्षा गरिएको स्थानीय प्रकाश तामाङले बताए । ‘पुल बनेपछि हामी नागरिकले कति राहत पाउँछौं कल्पनै गर्न सकिन्न । सडक छ, तर अहिले घन्टौं लगाएर हिँडेरै यात्रा गर्न बाध्य छौं । कृषिजन्य उत्पादन गाउँमा कुहिएर बसेको छ । तर, बजारसम्म लैजान सकिएको छैन,’ उनले भने, ‘कृषिजन्य उत्पादन बिक्री गरेर घर खर्च चलाउने र चाडपर्व मनाउने किसानको दैनिकी सकस र खल्लो बनेको थियो । अहिले पुल बन्यो हामी उत्तरी धादिङबासीमा जोस जाँगर र हौसला थपिएको छ ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%११%१%२%

    खोजी गर्नुहोस

    ताजा अपडेट