धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा माटो परीक्षण शिविर सञ्चालन

  • नेपाल पथ
  • २०८१ बैशाख २१, शुक्रबार (५ महिना अघि)
  • २९८ पटक पढिएको
धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा माटो परीक्षण शिविर सञ्चालन

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । किसानको खेतबारीको माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर मलजलको मात्रा सन्तुलन गरी उत्पादकत्व बढाउने उद्देश्यले शिविर सञ्चालन गरि माटोको नमुना परिक्षण गरिएको हो ।

Advertisement

माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा र बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा सञ्चालन भएको माटो परिक्षण शिविरमा २ सय ४० जना किसानले संकलन गरेर ल्याएको फरक–फरक स्थानको माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको छ ।

कृषिजन्य उत्पादनको उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउन माटाको परिक्षण गरिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताए । ‘कृषि उत्पादनलाई जोड दिन १० वटै वडाको किसानहरुसँग परिक्षणका लागि माटो मगाएर परिक्षण ग¥यौं । रिपार्ट अनुसार माटो सुधार्ने र कस्तो माटोमा कस्तो खेती हुन्छ निति तथा कार्यक्रममा नै समावेश गरेर कृषि क्षेत्रलाई जोड दिने तयारीमा छौं’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न माटो परीक्षण उपयोगी हुने बताए । प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सुझाव दिएको उनले बताए ।

माटो बोकेर प्रयोगशालासम्म किसान पुग्न नसक्ने भएकोले किसानको सहजताका लागि माटो परिक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेले बताइन् । उनले भनिन्– ‘कस्तो माटोमा के खेती गर्ने र माटोको अवस्था हेरेर उपचार गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ । सिमान्तकृत चेपाङ समुदाय रहेको बेनीघाट गाउँपालिकामा धेरै किसानलाई वर्ष भरि खान समेत पुग्ने अवस्था छैन । उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउन माटो परिक्षण गरिएको हो ।’

माटोको अम्लिय, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थको अवस्थाबारे परिक्षण गरिएको माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाका अधिकृत शिवबाबु जोशीले बताए । ‘माटोमा विभिन्न तत्व त हुन्छ । तर किसानले लगाएका बालीका लागि आवश्यक छ कि छैन । कुन तत्वको कमी छ त्यहि तत्व बारीमा थप्नु पर्ने हुन्छ’ उनले भने । उनका अनुसार परीक्षणपछि आएको रिपार्ट अनुसार किसानलाई सुझाव दिएर माटोको अवस्था अनुसार माटोलाई चाहिने तत्वहरु हाल्न सिफारिस दिन्छौं । प्रत्येक तीन वर्षमा माटोको परिक्षण गरी किसानले खेती गरे उत्पादन वृद्धि हुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट