काठमाडौं- सुनसान अन्धकार रात, किरा फट्याङ्ग्राको किरकिर किरकिर गुञ्जि रहेको आवाज । दिपावलीमा जस्तै डाँडैभरि झिलिमिली बत्ती । घरमा मात्र होइन, बारीका पाटा कान्लाहरुमा समेत विजुली बत्ती बलिरहेका छन् । पार्टी, भोजभतेर वा कुनै चाडपर्व भएर होइन । धादिङको गजुरी गाउँपालिका–३ पुराक्सिङका किसानले गाउँमा विजुली बत्ती आएसँगै खुम्रेकिरा नियन्त्रण गर्न बारीमा विद्युतीय पासो (लाइट ट्रयाप प्रविधि) जडान गरेका हुन् ।
‘२०८० सालको दशैमा गाउँमा बत्ती आयो, डवल दशैं म दंग थिएँ । बारीमा पनि बत्ती जोड्ने भन्नुभयो अचम्म लाग्यो । अन्धकारमा बस्दै आएका हामीलाई बारीमा पनि बत्ती जोड्ने भन्दा पत्यारै लागेन’ कृष्ण बहादुर प्रजा भन्छन्– ‘साँच्चै गाउँमा बत्ती आएसँगै फियान नेपालको सहयोगमा बारीमा पनि लाइट ट्रयाप जडान गरिदिएको छ । १५/१६ रोपनी जग्गामा वर्षभरि दश नड्ग्रा खियाउदा पनि वर्ष भरिलाइ नै खान नपुग्ने हामी खुम्रे किराका कारण आजित छौं । ३ वर्ष भित्रमा खुम्रे किरा नाश हुन्छ भनेको छ । खुम्रे किरा नाश भए हाम्रो त जीवन नै फेरिन्छ ।’
वर्षैदेखि खुम्रेकिराको प्रकोपले आजित बनेका पुराक्सिङबासीले गाउँमा बत्ती र खुम्रेकिरा नियन्त्रण गर्न बारीमा विद्युतीय पासो पाएपछि खुषी बनेका छन् । खुम्रे किरा नियन्त्रण गर्ने उपाय लाइट ट्रयाप जडान गरिएसँगै खुम्रे किरा नियन्त्रण हुने पुराक्सिङबासीमा आशा पलाएको हो ।
प्राविधिकको सल्लाह लिएर जाने बुझे र देखेको सबै उपचार पद्धति अपनाउदा पनि खुम्रेकिरा नियन्त्रण गर्न नसकेको बुद्धिमान तामाङ बताउँछन् । ‘खुम्रे किरा नियन्त्रण गर्न धेरै ठाउँ पुग्यौं । धेरैसँग गुहार माग्यौं । प्राविधिकहरुको सल्लाह लिएर माटोमै औषधी पनि राख्यौं । तर खुम्रेकिराले बाली नाश गर्न छाडेन’ उनले भने– ‘लाइट ट्रयापबाट चाँहि खुम्रे किरा नाश हुन्छ भनेको छ । खुम्रे किरा नाश भए दुइ छाक छोहो गर्न समस्या पर्ने थिएन ।’
पुराकसिङमा चेपाङ र तामाङ गरि ३२ घर परिवारको बसोबास रहेको छ । मलको भकारो, बारी लगायत यत्रतत्र सबै ठाउँमा खुम्रेकिरा र खुम्रेकिराको माउ खपटे किरा भेटिन्छन् । भकारोदेखि बारीसम्म जहाँपनि खुम्रे किराले सताएको छ । ३/४ वर्षदेखि त झनै बाली सखाप पार्दै आएको खुम्रे किरालाई विद्युतिय पासोबाट नाश गर्ने पर्खाइमा रहेको जीरमायाँ तामाङ बताउँछिन् ।
बारीभरि विजुली बत्तीको बल्ब टाँगिएको पोलहरु छन् । बत्ती मुनि नै बाटामा पानी राखिएको छ । रातको समयमा बत्तीमा किरा आकर्षित हुन्छन् र बत्तीमा आउदा झरेर पानी भएको बाटामा खुम्रे किराको माउ खपटे किरा परेर मर्छन् । यसरी मरेको खपटे किरालाई गाड्नु पर्ने फियान नेपालका प्रदेश संयोजक राजेन्द्र बस्नेत बताउँछन् ।
‘पानीमा परेर मरेका खपटे किरामा पनि लार्भा हुन सक्छन्, पछि सक्रिय पनि हुन सक्छन् । त्यसैले जम्मा गरी एकै ठाउँमा गाड्नु उपयुक्त मानिन्छ । लाइट ट्रयाप पद्धतिबाट तीन वर्षमा खुम्रे किराको नाश भइ सक्छ । सिन्धुपाल्चोकमा लाइट ट्रयाप पद्धतिबाट खुम्रे किरा नियन्त्रण भएपछि धादिङमा पनि यो प्रविधि ल्याइएको हो’ उनले भने ।
खुम्रेकिराको प्रकोप नियन्त्रण गर्न जडान गरिएको विद्युतिय पासोको उद्घाटन गर्दै गजुरी गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खुम्रेकिरा प्रकोप नियन्त्रण गर्न वजेट विनियोजन गरी आवश्यक सहयोग गर्ने बताएका छन् । ‘पुराक्सिङबासी खाद्य संकटमा रहेको कारण समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर चासो दिएर पालिका लागि रहेको छ । फियान नेपालसँग समन्वय गरेर अहिले यो विद्युतिय पासो जडान भयो’ उनले भने– ‘बत्तीको विल र लाइट ट्रयापको निरन्तरताको चिन्ता नगर्नुस् । यसको निरन्तरताका लागि आगमी वर्ष पनि बजेट व्यवस्था गरि पुराक्सिङमा खुम्रे किराको नाश गर्न पालिकाले सहयोग गर्नेछ ।’
३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रेकिरा नियन्त्रण गर्न १६० वटा विद्युतीय पासो जडान गरिएको बारीका पाटामा बत्ती बालिएको हो । फियान नेपालको सहयोगमा खुम्रे किरा नियन्त्रणका लागि वडा, पालिका, प्रशासन, प्रदेश सरकारसम्म गुहार्न पुगेका पुराक्सिङबासी विद्युतिय पासो जडान गरेपछि खुम्रे किरा नियन्त्रण हुने विश्वासमा छन् ।
त्यस्तै, खुम्रेकिरा प्रकोपका सवाल सम्वोधन भएको भन्दै लाइट ट्रयाप उद्घाटनका विच पत्रकारहरु नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता रेडियो धादिङका कार्यक्रम संयोजक एवम् नेपालपथ डटकमका सम्पादक अर्जुन श्रेष्ठ, राष्ट्रिय समाचार समितिका शंकर श्रेष्ठ र बागमती कलमका अनिल नेपाली, समूहको सवालको उठान गर्ने संस्था फियान नेपाल, बजेट व्यवस्था गर्ने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विशुराल र वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप