काठमाडौं– धादिङको खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
जेठ ६ र ७ गतेसम्म संचालन भएको तालिममा खनियाबास गाउँपालिका भित्रका २४ वटा सामुदायिक विद्यालयका २८ जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले खनियाबास गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । त्यसैगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि तालिममा पहिचान भएका सवालहरुलाई समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष एवम् खनियाबास गाउँपालिकाका प्रवक्ता लिलामान तामाङले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको भुमिका महत्वपूर्ण भएकोले क्षमता विकासका थप कार्यक्रमहरु संचालन गरिने धारणा व्यक्त गरे ।
तालिमको सहजीकरण तथा प्रशिक्षण सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिका महासचिव श्याम बहादुर मगरातीले गरेका थिए ।
उक्त तालिममा विद्यालयमा अभिभावकको सहभागिता अवधारणा र अभ्यास, विद्यालयमा अभिभावक सहभागिता किन र कसरी, विद्यालय व्यवस्थापन समिति भनेको के हो ? विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापनका सवालहरु, विद्यालयको सामाजिक लेखा परीक्षण, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनाका कारणहरु र गुणस्तर सुधारका लागि गर्न सकिने पहल तथा कदमी लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप