काठमाडौं– नीलकण्ठ नगरपालिकाका किशोर किशोरी तथा युवाहरुलाई करियर परामर्श, नेतृत्व विकास तथा युवा सचेतना कार्यक्रम गरिएको छ । युवाको भविष्यको योजना बनाउन र नेतृत्व विकासँगै मनोसामाजिक समस्याबाट निराकरण गर्न युवाको हातमा सीप, तालिम, रोजगार, उद्यमशील नीलकण्ठ नगरको आधार भन्ने मूल मर्मका साथ युवासँग उप–प्रमुख कार्यक्रम मार्फत सचेतना कार्यक्रम गरिएको हो ।
सचेतना कार्यक्रम अन्तर्गत विहीबार नीलकण्ठ नगरपालिका–९ मा रहेको चण्डेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई करियर परामर्श, नेतृत्व विकास तथा युवा सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रमको सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका उप–प्रमुख कुलमान विकले युवाहरुलाई स्वरोजगार र सफल बन्न अहिले घर आँगनमा भएको सरकारले युवाले चाहे जस्तै योजना बनाएर बजेट विनियोजन गर्न सकिने बताएका छन् । ‘इन्टरनेटले संसार सांघुरो बनाएको छ । अहिलेको पुस्ता भाग्यमानी छन् । युवाको नविनतम सोच र कामले देशलाई सकरात्मक परिवर्तन गर्न सक्छ’ उनले भने– ‘युवा देश बाहिर छ्न् । विदेश होइन नेपालमै भविष्य खोजौं । भोलि के बन्ने अहिले सोचेर त्यसको लागि त्यहि अनुरुपको योजना र मेहनत गर्न सके सफलता मिल्छ । तँपाई युवा योजना बनाएर आउनुस् । आर्थिक सहयोग चाहिए त्यसको लागि हामी समन्वय गर्छौ ।’
त्यस्तै, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले युवालाई देशमै रोजगारको व्यवस्था गर्न त्यहि अनुसारको प्राविधिक शिक्षा र तालिमको आयोजना गरेको बताएका छन् । ‘युवा देशको मेरुदण्ड हो । देशमा अवस्था र व्यवस्था परिवर्तनसँगै देश विकासमा युवाको प्रमुख भूमिका रहन्छ । नागरिकमा बढ्दो नैराश्यता छ । वैदेशिक रोजगारीमा जानेहरुको भिड नै छ’ उनले भने– ‘हामीले देशमै केही गर्न सकिन्छ भनेर युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएका छौ । युवालाई देशमै रोक्ने र समृद्धि बोक्ने बनाउँछौं । युवाका लागि सीप तालिम तथा रोजगार मेला पनि छिट्टै आयोजना गरिदै छ ।’
निलकण्ठ नगरपालिका– ९ का कार्यवाहक अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष सुनिल थापाले आर्थिक अवस्था कमजोरका कारण विद्यालय आउन समस्या भएका छन् भने त्यस्ता विद्यार्थीलाई स्थानीय सरकारले सहयोग गर्ने बताएका छन् । आजका बालबालिका भोलिका देशका कर्णधार हुन् ।
कार्यक्रममा मनोविमर्शकर्ता अमिशा धिमालले उच्च शिक्षा र करियर, युवा अवस्थामा आइपर्ने समस्या, चुनौति तथा अवसर, मनोसामाजिक समस्या लगायतका विषयमा सहजीकरण गरेकी छिन् । नयाँ विषयवस्तु र पछिल्लो समय समाजलाई त्रसित बनाएको मनोसामाजिक समस्याका विषयमा बुझ्न पाउदा खुषी लागेको विद्यार्थीहरुले बताएका छन् । जाँड रक्सी, जुवा तास तथा कुलतमा युवाहरु फसी रहेका छन् । स–सना बालबालिकामा पनि मनोसामाजिक समस्या देखिने गरेकोले यस्ता समस्याका बारेमा जान्न पाउँदा उनीहरुले खुषी व्यक्त गरेका हुन् ।
युवासँग उप–प्रमुख कार्यक्रम मार्फत १५ वटा स्कुल तथा क्याम्पसमा २० वटा करियर परामर्श, नेतृत्व विकास तथा युवा सचेतना कार्यक्रम गरिने नीलकण्ठ नगरपालिकाका मनोविमर्शकता रामकुमार थापाले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप