काठमाडौं – प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।
कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि लामा फरार थिए । उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।
काभ्रेका लामाले काठमाडौंमा कान्तिपुर सहकारी स्थापना गरेका थिए । सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको आरोप छ । कान्तिपुर सहकारीमा आठ सय ५२ जना बचतकर्ताको रकम डुबेको छ ।
लामाले अहिले आफू अध्यक्ष रहेको पशुपति सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप