काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ ।
प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।
प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।
प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।
प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप