काठमाडौं– १२ दिनअघि पूर्वबाट भित्रिएको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । कर्णाली र सुदूरपश्चिममा पनि मनसुन अनुकूल वातावरण बन्दै गएको तर सबैतिर फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म फैलिएको छ । अहिले मनसुनी वायु र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि पूर्णतया बदली छ भने बाँकी ठाउँमा आंशिक बदली छ ।
महाशाखाका अनुसार बिहान गण्डकी प्रदेशका केही भू–भाग तथा बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप