आय आर्जनसँग जोड्न सुन्तलाको विरुवा वितरण

  • २०८१ अषाढ २६, बुधबार (१ महिना अघि)
  • २०२ पटक पढिएको
आय आर्जनसँग जोड्न सुन्तलाको विरुवा वितरण

काठमाडौं– धादिङको नेत्रावती डवजोङ गाउँपालिका– ५ रीप गाउँका कृषकहरुलाई सुन्तलाको विरुवा वितरण गरिएको छ । सुन्तला खेतीको सम्भावना रहेको रीप गाउँका स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सुन्तलाको विरुवा वितरण गरिएको हो ।

Advertisement

धादिङको नीलकण्ठ नगरपालिका– ५ र नेत्रावती डवजोङ गाउँपालिका– ५ मा रोयम नेपालको जिविका परियोजना संचालन भईरहेको छ । जिविका परियोजना अन्तर्गत रीप गाउँका किसानलाई विरुवा वितरण गरिएको परियोजना संयोजक हरिशरण धितालले बताए । ‘५२ घरधुरीलाई ११ सय ७५ वटा सुन्तलाको विरुवा वितरण गरिएको छ । रीप गाउँमा सुन्तला खेतीको सम्भावना अध्ययन गरेर विरुवा वितरण गरिएको हो’ उनले भने– ‘धान, मकै, कोदो लगायत खाद्यान्न बालीको खेती गरिरहेका छन् । रीप गाउँ सुन्तला खेतीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना रहेको क्षेत्र हो । किसानलाई आय आर्जनसँग जोड्न वैकल्पिक आम्दानीको श्रोतको रुपमा सुन्तला खेती गर्न विरुवा वितरण गरिएको हो ।’

रीप गाउँलाई सुन्तलाको पकेट क्षेत्र बनाउन गाउँमा सुन्तला खेतीको सम्भाव्यता अध्ययन गरेर विरुवा वितरण गरिएको रोयम नेपालका कृषि प्राविधिक गोपाल श्रेष्ठले बताए । किसानहरुलाई सुन्तला खेती गर्ने तरिका, सुन्तलामा लाग्ने रोग किरा, गोडमेल लगायतको बारेमा तालिम दिएर विरुवा वितरण गरिएको उनले बताए ।

सुन्तलाबाट राम्रो उत्पादन गरेर आय आर्जन गर्ने सुन्तलाका विरुवा लिएका किसानहरुले बताएका छन् । राम्रोसँग सुन्तलाको खेती गरेर राम्रै उत्पादन लिने अपेक्षा रहेको गाउँकार्यपालिका सदस्य शान्तामाया तामाङले बताइन् । ‘विरुवा पाउने भनेपछि सबैले खाल्डो खनेर मल हालेर राखेका छन् । हाम्रो गाउँको हावापानीमा सुन्तला राम्रो फल्छ । आगामी वर्षहरुमा थप्दै लैजाने सोचमा छौं । गाउँमा राम्रो सुन्तला फलाउने घर खर्च तथा छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्षा छ’ उनले भनिन् ।

सुन्तला खेतीप्रति किसानलाई आकर्षित गरि आय आर्जन गर्न वडाले पनि योजना बनाएर जाने तयारी गरिरहेको वडा नम्बर ५ का वडा सचिव उमेश महरा बताए । किसानको माग अनुसार रोयम नेपालले सुन्तलाको विरुवा वितरण गरेको छ । अन्य सपोर्टका लागि वडाले पनि सहयोग गर्ने उनले बताए ।

गाउँ छाड्ने र शहर बस्ने क्रम बढी रहदा कृषि क्षेत्र र गाउँमै राम्रो आम्दानी गर्न सुन्तलाको विरुवा वितरण गरिएको रोयम नेपालका विजय तामाङले बताए । अहिले रीप गाउँसम्मै सडक सञ्जाल पुगेको छ । सुन्तला उत्पादन भए धादिङबेशी, त्रिशुली, काठमाडौं लगायतका क्षेत्रमा विक्रि गर्न सकिन्छ । सुन्तला खेतीको सम्भाव्यता मात्र नभएर बजारीकरणको समेत अध्ययन गरेर सुन्तलाबाट किसानले चाँडै मुनाफा लिन सक्ने भएकोले सुन्तलाको विउ वितरण गरिएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट