काठमाडौं– १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।
जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गरेको हो । न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।
फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२ की कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवानाको सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । उनीहरुले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख छ ।
अदालतले त्रिपुरासुन्दरी–१ का ३९ वर्षीया कोपिला दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५÷१५ वर्ष कैद र एक÷एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो ।
मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि घर परिवार र आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो ।
बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पु¥याएको अनुसन्धानबाट खुलेको छ । मामाघरमा बस्दै आएकी बालिकालाई भारत पु¥याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप