काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराएका छन् ।
यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराएका छन् । जसमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिएका छन् । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।
यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बनेका छन् । यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बनेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप