काठमाडौं– पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् ।
जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोकिएको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।
वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए । केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।
यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिएका मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप