काठमाडौं– सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो ।
घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो । डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ ।
सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन् ।
चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए । उनी परिवारसहित मलंगवा बस्छन् । रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप