धादिङ गुम्दीको गुरुङगाउँ पहिरोको जोखिममा

  • २०८१ श्रावण ९, बुधबार (१ महिना अघि)
  • १५६ पटक पढिएको
धादिङ गुम्दीको गुरुङगाउँ पहिरोको जोखिममा

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । ठूलो वर्षातका कारण जमिन भाँसिने र पहिरिन थालेपनि गुरुङगाउँ होमस्टेको नामले परिचित अम्बोटेगाउँका १६ घर परिवार जोखिममा परेका हुन् ।

Advertisement

ठूलो वर्षा र सडकबाट बगेको भलपानी पनि बस्तीमै पसेका कारण गाउँमा क्षति पुगेको स्थानीय रुपा गुरुङले बताइन् । ‘पहिरोका कारण गाउँमा क्षति हुन थालि सकेको छ । अब फेरी ठूलो पानी प¥यो भने ठूलै विपत्ति निम्त्याउन सक्छ । बस्ती भन्दा माथी र तलको दुई वटा पहिरोले गाउँ पुरै बगाउने खतरा छ’ उनले भनिन् ।

गाउँ माथीबाट पसेको भलपानीले ठाउँ–ठाउँमा क्षति पुग्दा गाउँ नै जोखिम रहेकोे अञ्जना गुरुङले बताइन् । ‘बस्तीको सिरानबाट र तल्लो भागबाट खसेको पहिरोले उच्च जोखिम बढाएको छ । पहिरो झर्ला भन्ने सोच्दै नसोचेको स्थानहरुमा पहिरो चल्न थालेपछि गाउँमा त्रास र चिन्ता बढेको छ’ उनले भनिन्– ‘पहिरोले १३ घर उच्च जोखिममा छ । नमूना होमस्टेको रुपमा परिचित घरहरु आवतजावत गर्न चिटिक्कसँग सिंगारेर राखेको एकमात्रै गोरेटो बाटो पनि पहिरोले थुनिएको छ ।’

केही वर्षदेखि मात्रै होमस्टे सुरु गरिएको गुरुङ गाउँ पहिरोको जोखिम बढेपछि स्थानीयहरु त्रास र चिन्तामा परेका छन् । ‘वर्षातको समय छ, कति बेला पहिरिने हो थाहा छैन । दिनमा त घर बाहिर हुदा थाहा होला तर रातको समयमा त झनै जोखिम रहेको छ । हाम्रोे आम्दानीको श्रोत बन्दै गएको होमस्टे मात्र होइन, ओतलाग्ने छानो र वर्षाैदेखि बस्दै आएको थातथलो नै गुमाउने डरमा छौं’ स्थानीय लोक बहादुर गुरुङले भने ।

गाउँको माथि र तलको भागमा भासिने र पहिरिन थालेपछि गाउँ उच्च जोखिममा परेको हो । भलपानीले सडक र गौडाहरु तहसनहस पारेको छ । सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटो तथा बस्तिमा क्षति पुगेको हो ।

वडासँगको सहकार्यमा पालिकाले पहिरो रोकथाम तथा व्यवस्थापनका लागि काम गरि रहेको गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताए । ‘पहिरोकै कारण हिजो राती एक घर छिमेकीमा सरेको र दुइ घर उच्च जोखिम छ । वडाबाट त्रिपाल लगेर ठाउँ ठाउँमा छोपिएको छ । खाडलहरुमा जेसिवी लगाएर पुरेको छ । स्थानीय सरकारबाट तत्कालको लागि ग्याविन उपलब्ध गराइ सकेको छ’ उनले भने– ‘दुइ घर तानियो भने अन्य घरहरु पनि जोखिममा पर्ने हुनाले रोकथामका लागि प्रयास थालि हालेका हौं । पर्यटकिय गन्तव्य बनेको गुरुङ गाउँ बचाउनु पर्छ, हाम्रो कर्तव्य पनि हो । प्राविधिकहरुसँग सरसल्लाह र छलफल पनि भइ रहेको छ । कसरी रोकथाम र व्यवस्थापन गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट