काठमाडौं– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो ।
पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । उनका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप