निर्मला कुर्मीको हत्या आरोपित बादशाहलाई कार्वाहीको माग गर्दै अधिकारकर्मीहरुको ध्यानाकर्षण

  • २०८१ श्रावण १५, मंगलबार (१ महिना अघि)
  • ३८५ पटक पढिएको
निर्मला कुर्मीको हत्या आरोपित बादशाहलाई कार्वाहीको माग गर्दै अधिकारकर्मीहरुको ध्यानाकर्षण

काठमाडौं– बाँके जिल्ला नेपालगञ्ज परस्पुरकी निर्मला कुर्मीको हत्या गरेर सम्पत्ति हत्याएको आरोपित बादशाह कुर्मीलाई कार्वाहीका लागि मानव अधिकारकर्मीहरुले माग गरेका छन् । महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङ, नेपाल पत्रकार महासंघ धादिङ, इन्सेक, गैर सरकारी संस्था धादिङ,  सहकारी संस्थाहरु लगायतले सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याललाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Advertisement

मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको बिनाविभागीय मन्त्री पदमा नियुक्त गरिएकोप्रति मानव अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् । सरकार परिवर्तन भएसँगै मन्त्री पदमा सिफारिस गरिनुले राजनैतिक शक्तिको आडमा बढ्दो दण्डहीनतालाई प्रोत्साहन गरेकोे महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङकी अध्यक्ष गायत्री खतिवडाले बताइन् ।

‘निर्मला कुर्मीको हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा बादशाह कुर्मी प्रहरी अनुसन्धानको घेरामा रहेका छन् । गृह मन्त्रालयको छानबिन समिति र सिआइबीले दोषी करार गरेको व्यक्तिलाई राज्यले कानुनको कठघरामा उभ्याइ कानुनी कारबाही गर्नुको सट्टा मन्त्री पदमा पदस्थापन गरी पुरस्कृत गरेको छ’ उनले भनिन्– ‘कानुनी राज्यमा आपराधिक गतिविधि गर्ने र फौजदारी अभियोगमा संलग्न व्यक्तिलाई राज्यको उच्च पदमा पदस्थापन गरी प्रोत्साहन गरिएको छ । यो भनेको नेतृत्वद्वारा नै कानुनी राज्यको उपहास गर्दै कानुनको ठाडो उल्लङ्घन गर्नु हो । मानव अधिकारविरूद्धको कार्यलाई प्रोत्साहित गरी अपराध गर्ने प्रवृतिलाई प्रश्रय दिनु र दण्डहीनता मौलाउने वातावरणको सिर्जना गर्नु हो ।’

पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्य व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्दछ भनी सर्वोच्च अदालतबाट परमादेश समेत जारी भएको छ । तर बाँकेकी निर्मला कुर्मीको हत्यामा संलग्न रहेको आरोप र यस मुद्दा न्यायिक प्रक्रियामा रहेको अवस्थामा हत्याको मुख्य अभियुक्त रहेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेश बिनाविभागीय मन्त्रीमा नियुक्त गरिनु भनेको जानाजान लोकतन्त्रको भावना र संविधानको मर्म विपरीत कार्य गरी आम नागरिकको राज्यप्रति रहेको विश्वासमा कुठाराघात गर्नु हो भनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

फौजदारी अभियोगमा राज्यको कारबाही तथा छानविन प्रक्रियामा रहेका व्यक्तिलाई नियुक्त गरिएको यस घटनाले अन्याय भएको छ । कानुनको दायरामा ल्याई आवश्यक कारबाही गरियोस् भन्ने जोडदार मार्ग गर्दछ । यदि कुनै पनि बाहनामा यस्ता अक्षम्य त्रुटिहरु नसच्याइएमा हामी देशैभरीका एकजुट भई यसको विरुद्धमा आन्दोलित हुन बाध्य हुनेछौँ भनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले ध्यानाकर्षण पत्र प्रदेश र केन्द्रमा पठाउने तथा न्याय निरुपणमा सहयोग गर्ने बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट