काठमाडौं– धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीको फोहोर व्यवस्थापन गरी नीलकण्ठ नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । युएसएआइडी तयार नेपालको सहयोग र ब्लु वेष्ट टु भ्यालु कम्पनीको सहजीकरणमा मल उत्पादन गर्न सुरु गरेको हो ।
नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सुरु गरेको मल उत्पादन केन्द्र स्थापना गरि अहिले मल उत्पादन सुरु गरिएकोे नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए । युएसएआइडी तयार नेपालको सहयोगमा स्थापना गरिएको मल उत्पादन केन्द्र बुधबार एक कार्यक्रमकाविच नीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
बजार क्षेत्रबाट निस्कने कुहिने फोहोरबाट मल उत्पादन गरिने र निश्चित मापदण्ड बनाएर विक्रि वितरण गरि आम्दानीको श्रोत बढाउने लक्ष्य रहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘स्वच्छ, सफा र हराभरासहित फोहोरलाई मोहर बनाउने अभियान हो । यो अभियानले ल्याण्डफिल्ड साइड क्षेत्रका प्रभावित र स्थानीय सरकार दुवै पक्षलाई फाइदा पुग्नेछ । वर्षौदेखिको फोहोर व्यवस्थापनको समस्या पनि समाधान हुनेछ’ उनले भने ।
कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने कार्यको थालनी गरिएपनि नकुहिने र सिसाजन्य फोहोर व्यवस्थपनको लागि चुनौति रहेको नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । ‘नगरपालिका भित्रका फोहोर व्यवस्थापन वर्षाेदेखि चुनौति बनि रहेको छ । सदरमुकाम आसपासका हामी जनप्रतिनिधिहरु पनि धेरै पटक छललफलमा बसेका छौं’, उनले भने– ‘अहिले फोहोर डम्पिङ गरिरहेको ठाउँको व्यवस्थापन गरि ल्याण्डफिल्ड साइडमा व्यवस्थित गर्ने उद्देश्यसहित नगरपालिका अघि बढेको छ ।’
नगरपालिका भित्रका टोल सुधार समिति मार्फत नकुहिने फोहोरबाट हस्तकला सामाग्री बनाउने तालिम र कुहिने नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरलाई कसरी मल बनाउने भन्ने तालिम र प्रविधि दिइ सकेको छ । उत्पादन गरिएको कम्पोष्ट मल परिक्षणका लागि ल्याव पठाइएको छ । परिक्षणपछि निर्धारण भएको बजार दररेटमा ५० प्रतिशत छुटमा नगरपालिकाबासीलाई मल विक्रि गरिने प्रवक्ता श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप