काठमाडौं – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरणमा दुई जना नर्स निलम्बनमा परेका छन् ।
क्यान्सरका बिरामीलाई आवश्यकभन्दा धेरै मात्रामा किमो दिएपछि मृत्यु भएको थियो । नर्सहरू प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । यस्तै दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण मागेर सचेत गराइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।
अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा धेरै किमो दिएपछि गुरुङको गएको असार १३ गते मृत्यु भएको महतोले बताए । बिरामीको उपचारमा लापर्बाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई जना चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप