काठमाडौं– डोटीमा जंगली जनावर मार्न गएका युवकको गोली लागेर मृत्यु भएको छ ।
शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको हो ।
थापामाथि कसरी गोली प्रहार भएको भन्नेबारेमा अनुसन्धान भइरहेको एसपी कोइरालाले जानकारी दिए । उनका अनुसार थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए ।
पूर्वीचौकी गाउँपालिका–६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई पक्राउ परेका छन् । उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए ।
घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप