रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

  • २०८१ श्रावण २०, आईतबार (३ महिना अघि)
  • ६८ पटक पढिएको
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।

Advertisement

भूत, प्रेतलाई खाना दिन यो जात्रा गर्ने गरिएको विश्वास छ । भोटो जात्रा कहिलेदेखि सुरु भयो भन्नेमा यकिन तिथिमिति नभए पनि मच्छिन्द्रनाथको यात्रा भने झन्डै एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो ।

पुरस्कारस्वरुप मणि माणिक्यलेयुक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाईसमेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाएको मानिन्छ ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आज राष्ट्रपति रामचन्द्र पौडेल जाउलाखेल पुग्नेछन् । भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट