सरकारलाई असहयोग गरेको भन्दै प्राधिकरणका दुई जना सञ्चालक बर्खास्त

  • २०८१ श्रावण २०, आईतबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
सरकारलाई असहयोग गरेको भन्दै प्राधिकरणका दुई जना सञ्चालक बर्खास्त

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदबाट हटाएको छ । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुन र आचार्यलाई पदमुक्त गरेका हुन् ।

Advertisement

झन्डै आठ अर्ब रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत् प्राधिकरणले काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिएपछि साउनको ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर राज्यले पाउनुपर्ने अर्बाैँ रुपैयाँ महसुल नबुझाएका उद्योगको लाइन जोड्न नहुने भन्दै सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएका थिए । त्यसपछि उनीहरूलाई गएको १६ गते ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै मन्त्री खड्काले अस्ति शुक्रवार नै दुवै जनालाई बर्खास्त गरेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुली महसुल विवादमा असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटेको थियो । सरकार र विद्युत् नियमन आयोगको ताकेतापछि साउन ८ गते प्राधिकरणले बिजुली जोडिदिएको छ । तीन महिनाभित्र बक्यौता नबुझाएमा फेरि लाइन काट्ने प्राधिकरणको सर्त रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट