काठमाडौं– बर्दियामा सर्पको टोकाइबाट हिजो एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।
घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा डाक्टरले सर्पको टोकाइबाट ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए ।
हिजै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा डाक्टरले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए ।
अहिले उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप