सोलुखुखुम्बु– सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन् ।
विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए ।
सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए । उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२÷२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ ।
वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ । लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ । लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताए ।
स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउँछन् । तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताउनुभयो । तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् ।
यसबाट डेङ्गीको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप