एजेन्सी– ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ ।
दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।
प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप