नीलकण्ठ नगरपालिकाद्धारा दुई सय ४६ विद्यार्थीलाई छात्रवृत्ति

नीलकण्ठ नगरपालिकाद्धारा दुई सय ४६ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं- नीलकण्ठ– ११ धादिङका सुनिल सुनार अहिले मणिपाल क्याम्पस पोखारामा एमविविएस पढ्दै छन् । दुई वर्ष पहिले नाम निस्केपनि आर्थिक अभावकै कारण उनले पढ्न पाएनन् । गत वर्ष छात्रवृत्ति स्वरुप नीलकण्ठ नगरपालिकाले दिएको ८० हजार रुपियाँले डाक्टर बन्ने सपना जोडेको बताउँछन् ।

Advertisement

‘आर्थिक अभावकै कारण पढ्न नपाएको तितो अतित बिर्सन सकेको छैन । ७ वर्ष हुदा बुबा गुमाएँ । निकै दुःख गरेर मलाई आमाले हुर्काउनु भयो । दुखैदुखमा हुर्केको मलाई भोलिको भविष्य सुन्दर बनाउन नगरपालिकाले दिएको ८० हजारले डाक्टर पढ्न आँट गरेँ’ उनले भने– ‘मेडिकल जर्नी पैसा विना सम्भाव छैन । छात्रवृत्तिमै पढेपछि ६० लाख तिर्न नपर्ने हो । तर बाँकी खानपिन, कोठा भाडा, परिक्षा शुल्क लगायत शिर्षकमा थुप्रै रकम खर्च हुन्छ । यस वर्ष पनि छात्रवृत्ति स्वरुप नीलकण्ठ नगरपालिकाबाट एक लाख रुपियाँ पाएँ । नगरपालिकाको यो छात्रवृत्ति मेरो लागि एकदमै ठूलो सहयोग बनेको छ ।’

नीलकण्ठ नगरपालिका–१४ का प्रकाश मल्ल माले पनि काठमाडौंमा रहेको नेप्लिज आर्मी इन्स्टिच्यूट अफ हेल्थ साइन्समा एमविविएस पढ्दै छन् । आर्थिक अवस्था कमजोर भएपनि सानैदेखि सामाजिक कार्य गर्न रुचाउने र परिवारको चाहनाले डाक्टर पढेको उनले बताए । ‘आर्थिक अवस्था कमजोर छ । डाक्टर पढ्न मोटो रकम लाग्छ पनि थाहा छ । तर नरोपी फल्दैन भनेर एमविविएस पढ्न थाले’ उनले भने– ‘करिव डेढ वर्षदेखि एमविविएस पढि रहेको छु । नगरपालिकाले छात्रवृत्ति स्वरुप दिएको एक लाख रुपियाँले ठूलो सहयोग पुगेको छ । निरन्तर रुपमा छात्रवृत्ति पाए हामी जस्ता गरिब विद्यार्थीका लागि ठूलो राहत मिल्नेछ ।’

धादिङको नीलकण्ठ नगरपालिकाले आइतबार एक कार्यक्रमकाविच दुई सय ४६ जना दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । एक सय २७ जना दलित र एक सय १९ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनरत विषयको आधारमा छ हजारदेखि एक लाख रुपियाँसम्म गरि २३ लाख रुपियाँ बराबर छात्रवृत्ति वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

शिक्षालाई सहज रुपमा सबैको पहुँचमा पु¥याउन छात्रवृत्ति वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश श्रेष्ठले बताए । ‘कापी कलम र परीक्षा शुल्क तिर्न नसकेर आत्महत्या गरेका घटना ताजै छ । मानिसको करियर बनाउन शिक्षा पहिलो आवश्यकता हो । अस्पताल, खानेपानी, भौतिक संरचना लगायतका काम जस्तै निःशुल्क शिक्षा र छात्रवृत्ति कार्यक्रम ल्याएको हो’ उनले भने ।

नीलकण्ठ नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘दलितहरुको संघ संगठनले विगत चार वर्षदेखि निःशुल्क शिक्षाका लागि माग र आन्दोलन गर्दै आएका थिए । गत आर्थिक वर्षदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिएको छ’ उनले भने– ‘यो आर्थिक वर्षमा शिक्षामा मात्रै ९ करोड भन्दा माथि वजेट छुट्याएका छौं । उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि २३ लाख रकम बराबरको छात्रवृत्ति दियौं । यो आर्थिक वर्षमा छात्रवृत्तिका लागि २० लाख रकम रहेको छ । नागरिकको अवस्था र व्यवस्था परिवर्तनका लागि शिक्षामा लगानी गरेका हौं ।’

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले स्थानीय सरकार घर आँगनको सरकार भएकोले नागरिकको आवश्यकता र माग हेरी लगानी गर्दै आएको बताए । ‘सघिय सरकार भनेको टिभिमा देखिने सरकार हो । प्रदेश सरकार रेडियोमा सुनिने सरकार हो । तर स्थानिय सरकार जनताको घर आँगनको सरकार हो’ उनले भने– ‘नीलकण्ठ नगरपालिकाले सबै भन्दा बढी शिक्षामा लगानी गरेको छ । नीलकण्ठ नगरपालिकाका कुनैपनि विद्यार्थीहरु आर्थिक अभावका कारण शिक्षाको पहुँच बाहिर हुने छैनन् ।’

 

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट