रिम्के सार्कीको हत्या आरोपमा धादिङका दुई जना पक्राउ

रिम्के सार्कीको हत्या आरोपमा धादिङका दुई जना पक्राउ

काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ७ खहरेका ४२ वर्षीय नवराज धरेल र नेत्रावती डबजोङ गाउँ पालिका–५ पौवाका ३२ वर्षीय भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका– ७ का रिम्के सार्कीको हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

सार्कीलाई कुटपिट गरि हत्या गरेको आरोपमा धरेल र श्रेष्ठलाई ज्यानसम्बन्धी (कर्तव्य ज्यान) कसुरमा मुद्दा चलाइएको हो । आरोपितहरुलाई साउन २७ गते पक्राउ गरि ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आउनै बाँकी छ । घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

‘रिम्के सार्कीको खहरे बजारमा जुत्ता सिउने पसल छ । आरोपित नवराज धरेल त्यहिकै स्थानीय हुन् । सोही ठाउँमा भुवन श्रेष्ठको पनि घडी मोबाइल पसल छ । २०८१ साउन १० गते करिव नौ वजे राति मोटरसाइकलको चाँवीको निहुमा उनीहरुविच विवाद भएछ’ मृतककी श्रीमती कविता भुजेल सार्की भन्छिन्– ‘मेरो श्रीमानलाई धरेल र श्रेष्ठले छाति र अनाडीमा कुटपिट गरेछन् । एक सातासम्म एउटै ओछ्यान हुनुभयो । दिनप्रतिदिन घाइतेको अवस्था गम्भिर हुन थालेपछि धादिङ अस्पताल ल्यायौं । अवस्था गम्भिर रहेको कारण काठमाडौं रेफर भयो । तर काठमाडौंको टेकु अस्पतालमा उपचारका क्रममा मेरो श्रीमानको साउन २२ गते ज्यान गयो ।’

कुुटपिटका कारण श्रीमान विरामी परेको भन्दै उपचारका लागि धरेलले १२ हजार पाँच सय रुपियाँ दिएको कविता बताउँछिन् । ‘जिउँदो हुदा मर्ने गरि कुटे । टेकुबाट अन्त लैजान्छु भन्दा यहि राम्रो उपचार हुन्छ भनेर अन्यत्र लगेर राम्रोसँग उपचार गर्न पनि दिएनन् । अहिले श्रीमानको मृत्यु भएपछि पनि रेविजको समस्या देखाएर उनीहरु पन्छिन खोज्दैनन् । न जिउँदोमा छाडे न मरेपछि छाड्ने भए’ उनले भनिन् ।

‘गत चैतमा मेरो श्रीमानलाई कुकुरले टोकेको पनि हो । तर रेविज विरुद्धको सुइ लगाएपछि पसल तथा खेतवारीमा काम गर्दै आउनुभएको थियो’ उनले भनिन्– ‘उनीहरुले छाति र अनाडीमा कुटेकै कारण मेरो श्रीमानको ज्यान गएको हो । दोषीलाई कार्वाही नहुन्जेल टिचिङ अस्पतालमा रहेको मेरो श्रीमानको शव उठाउदैनौं ।’

कुटपिटकै कारण रिम्के सार्कीको मृत्यु भएको दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती बताउँछन् । ‘समातिएका दुई जना हुन् । घटनामा संलग्न अरु थुप्रै छन् । त्यो त अनुसन्धानमा विस्तारै आउँलान् । तर मानिसको ज्यानै गइसक्यो’ उनले भने– ‘दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । चैतमा कुकुरले टोकेको कारण रेविज लागेको भए पसल खोल्ने, खेतबारीमा काम गर्न सक्दैन थियो । रेविजै लागेको भएपनि रिपोर्टले बताउला । पिसावमा पिपजस्तो सेतो पानी कुटपिटकै कारण आएको हो । ल रेविजै रहेछ भने पनि रोगी छ भनेर कुुटेर मान्छे मार्न त पाइदैन नि । कुटपिटकै कारण रिम्केको मृत्यु भएको हो । दोषीलाई कार्वाही हुनुपर्छ, यहि हाम्रो माग हो ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट