धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका देशभरकै उत्कृष्ट

धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका देशभरकै उत्कृष्ट

काठमाडौं- स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फबाट जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पृथ्वी राजमार्ग जोडिएको बेनीघाट रोराङ गाउँपालिका सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेको हो ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास गरेको स्वमूल्यांकन प्रणाली एउटा परीक्षा हो । लिजामा देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाएको छ ।

विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०७९/०८० मा नगरपालिका उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए । ‘नीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको हो । सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता, प्रवाह भइ रहेका सेवा, सूचनाको हक लगायत विभिन्न सुचकमा नगरपालिकाले उत्कृष्ट नजिता ल्याएको छ’ उनले भने– ‘जनप्रतिनिधि, कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको हो ।’

यो उत्कृष्ट नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘२०७२ सालमा स्थापना भएको नगरपालिका उमेरको हिसावले कान्छो भएपनि नरपालिकाले गरेको कामको लिजाको मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो’ उनले भने– ‘भौतिक पुर्वाधार विकास निर्माण, न्याय निरुपण लगायतका क्षेत्रमा काम गर्ने सवालमा प्रदेश सरकार, संघिय सरकार लगायतका विभिन्न संघ संस्थासँग समन्वय गरी काम भइ रहेको छ । यो सम्मानले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसलासँगै आगामी दिनमा थप सुधार गर्न उत्प्रेरण मिलेको छ ।’

‘लिजामा उत्कृष्ट अंक हासिल गर्नु भनेको सम्पूर्ण रूपमा सम्पन्न र पूर्वाधारयुक्त हुनु होइन । तर सिमित साधन स्रोतमा विधिसम्मत तरिकाले उत्कृष्ट नतिजा हासिल गर्नु स्थापित हुनु हो’ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले भने– ‘यो मुल्याङ्कन स्थानीय तहहरूले गर्नैपर्ने र गरेका महत्वपूर्ण कार्यहरूको समग्र मूल्यांकन हो । स्थानीय तहको क्षमता मापन गर्ने यो विश्वासिलो आधारमा नीलकण्ठ नगरपालिकाले पाएको उत्कृष्ट स्थानले हामी सबैको शिर उचो बनाएको छ ।’

विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताए । ‘हामी शासक नभएर जनताको सुखदुखको सारथी भएर काम गरिरहेका छौं । जनताप्रति उत्तरदायि भएर काम गरे सफलता मिल्छ भन्ने यो एउटा उदाहरण हो’ उनले भने ।

देशैभरको उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट हुनुले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवारी बोध गरेको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन, श्रोत साधनको उच्चतम सदुपयोग, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायतको क्षेत्रमा भएका कामले गाउँपालिका उत्कृष्ट बनेको बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले बताइन् । जनप्रतिनिधि र कर्मचारीको राम्रो टिम र जनताको साथले गाउँपालिकालाई यो सम्मान मिलेको उनको भनाई छ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट