धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु, मुस्कानसहितको सेवा दिन स्वास्थ्य मन्त्री थापाको आग्रह

  • २०८१ भाद्र ११, मंगलबार (२ हप्ता अघि)
  • २८८ पटक पढिएको
धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु, मुस्कानसहितको सेवा दिन स्वास्थ्य मन्त्री थापाको आग्रह

काठमाडौं- धादिङ अस्पतालमा पहिलो पटक मेमोग्राम सेवा सुरु भएको छ । जिल्लाको सदरमुकाममा रहेको अस्पतालले स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) मेमोग्राम सेवा सुरु गरेको हो ।

Advertisement

स्तन क्यान्सरबाट महिला दिदिबहिनीको ज्यान जोगाउनका लागि मेमोग्राम सेवा सुरु गरिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । ‘नेपालमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर पछिको दोस्रोमा स्तनको क्यान्सर रहेको छ । समयमै उपचार भयो भने निको हुन्छ । अकालमै ज्यान जानबाट जोगाउन यो सेवा सुरु गरिएको हो’ उनले भने ।

‘स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे मेमोग्राम सुरु गरिएको हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तनको चित्र र स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाव दिन्छन्’ उनले भने– ‘४० वर्ष कटेकाले समय समयमा मेमोग्राम गराउदा राम्रो हुन्छ । परिवारमा कसैलाई स्तन क्यान्सर थियो या छ भने परिवारका सदस्यले पनि मेमोग्राम गराउदा उचित हुन्छ ।’

बढ्दै गएको स्तन क्यान्सर पहिचान र परिक्षणका लागि जिल्ला बाहिर धाउनु पर्ने बाध्यता हटेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण गरिएको हो ।

अस्पतालले मुस्कानसहितको सेवा दिनुपर्छः स्वास्थ्य मन्त्री थापा

उपचारका लागि अस्पताल आइपुगेका सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए । स्वास्थ्यकर्मीले हप्कीदप्की लगाउँदा बिरामीको मानसिकतामा नकारात्मक असर पर्ने हुदा राम्रो व्यवहार र इमान्दारिताका साथ काम गर्न प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाका कर्मचारीलाई उनले आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीले राम्रो काम गर्दागर्दै पनि इमान्दारितामाथि औला उठाउँछ भने स्वास्थ्यकर्मीको पक्षमा आफु उभिने उनले बताए । मंगलबार धादिङ अस्पतालमा मेमोग्राम मेसिन हस्तान्तरण तथा मेमोग्राम सेवा सुभारम्भ कार्यक्रमको सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘अस्पताल आइपुगेका बिरामीलाई मुस्कानसहित सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई केही गाह्रो, साँघुरो, अप्ठ्यारो परेको छ भने मलाई भन्नुहोस्’ उनले भने– ‘मुस्कानसहितको सेवा प्रवाह गर्नुहोस् । सेवाग्राहीको हितमा काम गर्दा अप्ठ्यारो पारे र कसैले औला उठाए । म तपाईहरुको पक्षमा म हुनेछु ।’

त्यस्तै, अस्पतालको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन गरी अस्पतालले प्रवाह गर्ने सेवामा सुधार गर्दै लैजाने मन्त्री थापाले बताए । ‘प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरि सेवामा सुधार ल्याउने छौं । धादिङ अस्पतालमा ६८ लाखको डिपिआर गरिएको छ’ उनले भने– ‘बागमती प्रदेश सरकारबाट तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । वहुवर्षे योजना बनाई १५ करोडको वजेट बनाएर सक्दो चाँडै भवन निर्माण गर्न पहल गर्नेछु । अन्य विशेषज्ञसहितको सेवा विस्तार तथा प्रभावकारी रुपमा सञ्चालन गर्न पनि पहल गर्ने र बागमती सरकारले सोहि अनुरुप शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका गर्नेगरि वजेट ल्याएको छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट