हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण देखियो, हैजाका बिरामी पनि ७५ जना पुगे

  • २०८१ भाद्र १५, शनिबार (२ महिना अघि)
  • १०६ पटक पढिएको
हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण देखियो, हैजाका बिरामी पनि ७५ जना पुगे

काठमाडौं– देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

Advertisement

यस्तै सङ्क्रमणका कारणले तीन जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ९१, मधेसमा एक सय, बागमतीमा एक हजार ६ सय २३, लुम्बिनीमा चार सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँमा एक हजार एक सय १६ जना सङ्क्रमित छन् । यस्तै काठमाडौं जिल्लामा पाँच सय ११, भक्तपुरमा ६९ र ललितपुरमा एक सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

यस्तै महाशाखाका अनुसार देशभर हैजाका बिरामी ७५ जना पुगेका छन् । ललितपुर, काठमाडौं , प्यूठान, मकवानपुर, कैलाली र रोल्पामा हैजाका बिरामी भेटिएको महाशाखाले जनाएको छ । ललितपुरमा ५०, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्यूठानमा दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ ।

हैजा सङ्क्रमितमध्ये ७४ जना निको भएका छन् । एक जनाको उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट