चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

  • २०८१ भाद्र २३, आईतबार (१ हप्ता अघि)
  • ४६ पटक पढिएको
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

काठमाडौं– त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरू गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतमा रहेको चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा रहेको त्रिशूली थ्री बी हब सबस्टेशनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरू भइरहेका छन् ।

प्रसारण लाइन निर्माणका बाँकी कामहरू सम्पन्न गरी दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०÷१३२÷३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन् ।

प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न झन्डै २ सय जना श्रमिक परिचालित छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले हिजो प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैँअघि नै काम सक्ने समयसीमा तय गरेको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२ दशमलव ५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

उत्तरगया गाउँपालिका–१ तिरुबाट यही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तान्नुपर्ने छ । मैलुङखोलामाथि पर्ने यो खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

प्रसारण लाइन समुद्री सतहदेखि ६८० देखि २६०० मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । यो ठाउँसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ ।

खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ । २ वटा टावर हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ सालको कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ सालको पुसमा कार्यान्वयनमा आएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट