काठमाडौं– गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई पोखरा लगिएको छ । म्याद थप तथा अदालत लैजानका लागि आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ परी जोशीलाई राति नै बुद्ध एयरको जहाजबाट पोखरा लगिएको हो ।
जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हो । यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो ।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो ।
जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो । संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए ।
गोर्खा मिडियामा पोखराको सुर्यदर्शन लगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप