लगातार परेको झरीले देशभरको जनजीवन प्रभावित

  • २०८१ आश्विन ११, शुक्रबार (१२ घण्टा अघि)
  • ६२ पटक पढिएको
लगातार परेको झरीले देशभरको जनजीवन प्रभावित

काठमाडौं – लगातार परेको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ ।

Advertisement

गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने आज रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २ सय ९९ मिलिमिटर वर्षा मापन भएको छ । एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अति भारी वर्षा भनिन्छ । झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ । पूर्वी नेपालमा भोलि बेलुकादेखि मात्रै वर्षा कम हुँदै जाने मौसमविद् गोविन्द झाले बताए । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा बाढीको जोखिम रहेको सन्देश पठाइरहेको छ । महाशाखाले पठाएको सन्देशमा कपिलवस्तुको कोइली नदी, सुनसरीमा सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायत अन्य स–साना खोला तथा पाल्पा र आसपासमा कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनई नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ ।

यस्तै सप्तरी र उदयपुरको त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । झापा र आसपासको कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा पनि बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तर झरी परिरहेका सबै क्षेत्रमा साना ठूला खोला तथा नदीमा जोखिम हुने भएकोले सावधानी अपनाउन भनेको छ ।

झरीका कारण सडक यातायात कष्टप्रद भएको छ । सडकमा समस्या आएका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई काठमाडौंसँग जोड्ने सडकको नारायणगढ–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट