बाढी पहिरोबाट धादिङमा ३९ जनाको मृत्यु, राजमार्गको यात्रा ज्यानकै बाजी

बाढी पहिरोबाट धादिङमा ३९ जनाको मृत्यु, राजमार्गको यात्रा ज्यानकै बाजी

काठमाडौं – त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको छ । संघीय राजधानी काठमाडौं आउदै गरेका बस, भ्यान र हाइस पहिरोले पुरिदा राजमार्गमै उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

Advertisement

‘अविरल वर्षाका कारण झरेको पहिरोमा परि पुरिएको बुटवलबाट काठमाडौं आउदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबस (विंगर म्यान)बाट शनिबार साँझ १४ जनाको शव निकालिएको थियो’ उनले भने– ‘नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना२ख १३४५ नम्बरको माइक्रोबसबाट १७ जना र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसबाट ४ जना गरी आइतबार २१ जनाको शव निकालिएको हो । यो सँगै झ्याप्ले खोलामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ३५ पुगेको हो ।’

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको खवर पाउनसाथ खोजी तथा उद्धार कार्य सुरु गरेको थियो । तीन वटा सवारी साधनबाट ३५ जनाको शव निकालेका सुरक्षाकर्मीहरु अहिले पनि खोजी तथा उद्धार कार्य गरिरहेको छन् । माटो पुरिएको आधारमा अन्य सवारी साधनहरु पनि हुन सक्ने आंशकाले खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक सिलवालले बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले उद्धार तथा खोजी कार्यसँगै राजमार्ग खुलाउने काम भइ रहेको उनको भनाई छ ।

अलपत्र परेका यात्रुको सुरुङमार्गद्धारा उद्धार

धादिङमा बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गद्धारा काठमाडौं लगिएको छ । नागढुंगा–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि सडक विभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार गरिएको हो । नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं लगिएको हो ।

आइतबार बिहान दुध बोकेको ट्याक्टरलाई सुरुङमार्गबाट काठमाडौं प्रवेश गर्न दिइएको थियो । शनिबार पनि पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं लगिएको हो । आकस्मिक अवस्थामा सुरुङ मार्गको प्रयोग गरिएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए ।

३९ जनाले गुमाए ज्यान

घरमा आएको पहिरो सोर्ने क्रममा शनिबार पहिरोले पुरिएर थाक्रे गाउँपालिका– ६ महादेवबेशीका कान्छा तामाङको ज्यान गयो । शनिवार नै धादिङकै गजुरी गाउँपालिका– २ गुम्बा डाँडाका जनता चेपाङले ताल्ति खोलामा पहिरोले पुरिएर ज्यान गुमाए । जनतासँगै पहिरोमा पुरिएका सन्तुको पनि आइतबार शव भेटियो । खोलाले बगाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको पनि आइतबार शव भेटिएको प्रहरी निरीक्षक सिलवालले बताए ।

धादिङको झ्याप्ले खोलामा झरेको पहिरोले पुरिएका ३५ जनाको शव निकालिएको छ । यो संगै धादिङमा बाढी पहिरोका कारण दुई दिनमा ३९ जनाको ज्यान गएको छ ।

राजमार्गको यात्रा ज्यानकै बाजी

६५ भन्दा बढी जिल्लाहरुलाई संघीय राजधानी काठमाडौं जोड्ने मुख्य लाइफलाइन पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडकको यात्रा निकै जोखिमपूर्ण बनेको छ । अविरल वर्षाका कारण अवरुद्ध बनेका यि राजमार्गहरुमा अन्य समयमा पनि ज्यानकै बाजी लगाएर यात्रा गर्नु पर्ने बाध्यता छ ।

 

वर्षाले पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ अन्तर्गत नौविस नागढुंगा सडक खण्ड, धादिङबेसी मलेखु सडक खण्ड लगायत धादिङका विभिन्न ग्रामिण सडकहरु पनि ठप्प बन्यो । पहिरो पन्छाउने कार्य भइ रहेपनि पाइलैपिच्छे झरेको पहिरोले यात्रा सास्ति मात्र होइन उस्तै ज्यानको जोखिम रहेको छ ।

दुई दिन लगाएर काठमाडौं पुगेकी धादिङकी उषा श्रेष्ठलाई गृह जिल्ला फर्कने चिन्ताले पिरोलेको बताउँछिन् । ‘कच्ची सडक भन्दा राजमार्ग बिग्रेको बाटो छ । अहिले त झन् जताततै पहिरो झरेको छ’ उनले भनिन्– ‘राजमार्गबाट जोडेर जताततै खनिएका अव्यवस्थित कच्ची सडक र विभिन्न खानीहरु नै राजमार्ग अस्तव्यवस्त हुनुको मुख्य कारक हुन् । मर्मत भइ रहेको राजमार्ग पनि अर्काे एउटा मूख्य कारण हो । सरकारको बेलैमा ध्यान नपुग्ने हो भने सडकको नाममा धेरैले अझै सहिद हुन पर्छन् ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट