काठमाडौं– दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा भन्दै प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले निःशुल्क खाजासहितको विश्रामस्थल सुरु गरेको हो ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दशैं मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना रहेको अध्यक्ष कार्कीले बताए ।
निःशुल्क पानी र खाजाको व्यवस्थापछि चालक तथा यात्रुहरुले खुषीसङ्गै प्रशंसा गरेका छन् । खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदिपकुमार सिंहले बताए ।
काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप