काठमाडौँ- सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।
त्यस्तै तयारी गहनाको मूल्य भने कम्तीमा १ लाख ८९ हजार पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ ।
त्यसपछि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । तर उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् ।
त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यमा शुक्रबार ३० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार भने चाँदीको मूल्य १ हजार ९ सय ५० रहेको थियो ।
मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप