काठमाडौं– सरकारले सय दिन पुरा गरेलगत्तै लामो समय सत्तामा बसेका हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले सडकबाट दबाब अभियान सुरु गरेको छ । सरकारलाई सुशासनको अभियान नरोक्न राजधानीको भृकुटीमण्डपमा खबरदारी सभा गरेका हुन् ।
‘आजकाल कसैले सोध्दा पनि सोध्दैन कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड ? कहाँ पुग्यो बाँसबारीको जग्गा काण्ड ? कहाँ पुग्यो गिरीबन्धु टी इस्टेटको कुरा ? कहाँ पुग्यो बालमन्दिर काण्ड ? किनकि यो सबैलाई थाहा छ, यी काण्ड खोतल्न होइन, काण्ड मिलाउन यो सरकार आएको हो,’ खबरदारी सभामा प्रचण्डले भने,– ‘तपाईंहरू जनताको अदालतको हेक्का राख्नुहोला । देश कांग्रेस र एमालेको बिर्ता होइन । संख्याको बलमा जस्तासुकै अपराध गर्ने छुट सरकारलाई छैन ।’
खबरदारी सभा रविको समर्थनमा नभएको पनि स्पष्टीकरण दिएका छन् । ‘दोषी कोही बच्न हुन्न, निर्दोष कोही फस्न हुन्न । हामीले हिजो त्यही भनेका थियौं, अहिले पनि यही भन्छौं’, खबरदारी सभामा प्रचण्डले भने,– ‘सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ ।’
बिचौलियाको दबाब र प्रभावमा सरकार चलेको माओवादी अध्यक्ष प्रचण्डको आरोप लगाएका छन् । सरकारी उद्योग निजीकरणका नाममा स्वार्थ समूहलाई दिने तयारी गरिएको उनको दाबी छ ।
सरकार ढाल्नका लागि खबरदारी सभा नगरेको पनि उनले बताए । ‘सरकार ढाल्नका लागि खबरदारी सभा गरेको पनि होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने हामीलाई गहिरो गरी बोध छ । सम्झाएका हौं । सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, अझ बढी भ्रष्टाचारीको संरक्षणमा नजानुहोला’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप