काठमाडौं– यस वर्षको तिहारका लागि दुई लाख मखमली फूलको माला निर्यात हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ ।
यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको सोसिएसनले जनाएको छ ।
हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप