फूल खेतीले दिएको खुषी, तिहारमा १० लाखको फूल विक्रि गर्ने लक्ष्य

फूल खेतीले दिएको खुषी, तिहारमा १० लाखको फूल विक्रि गर्ने लक्ष्य

काठमाडौं- फूलले ढकमक्क ढाकेको पहेँलपुर खेतबारी । कोही फूल टिप्नमा त कोही माला उन्नमा व्यस्त छन् । कतिपयलाई उनेको माला र फूल बजारसम्म लगेर बेच्न भ्याइनभ्याइ छ ।

Advertisement

धादिङको धुनिवेशी नगरपालिका–९ सिक्रेखोलामा व्यवसायिक फूल खेती गरिरहेका रोल्पाका किसानलाई भन्छन्– ‘स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्छ । हामी त घट्दो तर सन्तोषजनक व्यापारमा पनि फूल खेतीमा रमाइरहेका छौं ।’

रोल्पाका मान बहादुर पुन मगर फूलखेती किसान हुन् । उनले करिव १९ रोपनी जग्गामा फूलखेती गरिरहेका छन् । करिव सात वर्ष तरकारी खेती र विगत तीन वर्षदेखि फूलखेती गर्दै आएका मगर यो तिहारमा १० लाखको फूल विक्रि गर्ने तयारीमा छन् ।

करिव १९ रोपनी जग्गामा रहेको २५ हजार भन्दा बढी विरुवाबाट यो तिहारमा १० लाखको व्यापार गर्ने योजना रहेको मगर बताउँछन् । ‘गत वर्ष पाँच लाखको व्यापार भएको थियो । यो वर्ष लगानी पनि बढाएको छु । १० लाख भन्दा बढी त लगानी नै छ’ उनले भने– ‘बजारले के गर्छ, फूल पनि राम्रै छ । सोचे जस्तो विक्रि गर्न सकियो भने १० लाख भन्दा बढीको व्यापार हुन्छ ।’

मान बहादुरको परिवारलाई अहिले फूल टिप्न भ्याइनभ्याई छ । फूल टिप्ने, माला उन्ने र बजारसम्म लगेर विक्रि गर्ने चटारो परेको छ । मान बहादुर भन्छन्– ‘फुल टाइम काम गर्ने गरि दुई जना कामदार छन् । अरु आवश्यकता अनुसार कामदार राख्ने गरेको छु । स्वदेशमा यतिको काम र व्यापार हुनु राम्रै हो । म त सन्तुष्टि नै छु ।’

‘स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ । स्वदेशी उत्पादन हुदाहुदै बाहिरबाट आयात गरिनु हुदैन । यति मात्रै भए पनि कृषि कर्ममा रमाउदै भविष्य खोजिरहेका हामी जस्ता किसानलाई घाटाको व्यापार गर्नु पर्ने थिएन’ उनले भने ।

रोल्पाकै पूर्ण कुमारी मगर पनि फूल टिप्न र माला उन्न व्यस्त छिन् । १३ रोपनीमा लगाइएको फूल यही तिहारमा विक्रि गर्ने सोचमा रहेको उनी बताउँछिन् । ‘तिहारका लागि फूलको माग असाध्यै बढको छ । मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भनिन्, ‘कोही बारीमै आइपुग्छन् । कतिपयले फोनबाट फूलको माग गर्छन् । म फूल टिपेर माला उन्छु । मेरो श्रीमानले बजार लगेर बेच्नु हुन्छ । फूल खेतीको व्यापार खुषीले नै चलिरहेको छ ।’

पूर्ण कुमारीलाई भने यति नै व्यापार हुन्छ भन्ने आँकलन नभएको बताउँछिन् । ‘हाम्रो मूख्य आयआर्जनको पाटो भनेकै फूल खेती हो । यति नै व्यापार हुन्छ भन्ने छैन । जे होस्, चित्त बुझ्ने खालको व्यापार भइ रहेको छ । राम्रै हुन्छ भन्ने अपेक्षा छ’ उनले भनिन् ।
व्यवसायी तथा उपभोक्ताले फूल ३ प्रकारले खरिद गर्ने गरेको उनी बताउँछिन् । बोटसहित, फूल र माला उनेर विक्रि गर्ने गरेका छौं । कतिपय खेतबारीमै फूल किन्न आइपुग्छन् । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मूख्य राजमार्ग नजिकै भएर पनि बजारीकरणमा थप सहज भएको उनले बताइन् ।

 

तिहारमा सबैभन्दा बढी फूल खपत हुने गर्दछ । सयपत्री, मखमली र गोदावरी फूलले घर, बजार, कार्यालय सजिसजाउ गरिन्छन् । घर तथा पसलह दुलही झैं सिंगारिएका छन् । त्यसैले पनि अन्य समय भन्द यतिबेला फूलको माग बढेको छ ।

भारतीय फूलमा भाइरस भेटिएको भन्दै सरकारले आयातमा कडाइ गरेको छ । सरकारले भारतीय फूलको आयातमा कडाइ गरेसँगै स्वदेशी फूलले बजार ओगटेको हो । यस वर्षको तिहारमा स्वदेशी उत्पादनले बजार पाउने र किसानले राम्रो आम्दानी गर्ने अपेक्षा गरेका छन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट