काठमाडौं– काभ्रेको रोशी गाउँपालिका– ३ भञ्ज्याङमा आफ्नै कान्छा छोराले आमाको हत्या गरेका छन् । लोहोरो र आग्लोले टाउकोमा हिर्काएर ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको आरोपमा मृतकको कान्छो छोरा २८ वर्षीय फुर्साङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।
माइली लामा आफ्नै घरको भान्साकोठामा टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानपछि पक्राउ परेका लामाले आमालाई मारेको स्वीकार गरेका छन् । फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुंगाको लोहोरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु भएपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगदसमेत लिई घटनास्थलबाट भागेका थिए । हत्या गरी फरार भएका लामालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका फुर्साङलाई जिल्ला अदातलत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप