ऐतिहासिक महत्व बोकेको धादिङको गङ्गाजमुना मेला

ऐतिहासिक महत्व बोकेको धादिङको गङ्गाजमुना मेला

काठमाडौं–धादिङको गङ्गाजमुना झरना र गङ्गाजमुना माई धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न ठूलो भिड लाग्ने गर्दछ । यस वर्ष पनि जात्राको रौनक उस्तै देखियो ।

Advertisement

धादिङकोे उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान स्नान गरी पूजाआजा गरेका छन् ।

गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।

गङ्गाजमुना गाउँपालिका– ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मागेको मनोकामना पुरा हुने विश्वास छ । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास छ । त्यसैले पनि गङ्गाजमुनाको दर्शन गर्न र झरनामा नुहाउन भक्तजनहरुको भिड लाग्ने गर्दछ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । ढुंगामै कुदेको मूर्तिले मन्दिरको थप सुन्दरता थपेको छ ।

एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभूषा र पहिरनअनुसारको कला देखाउँछन् ।
यो जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन सांगीतिक कार्यक्रम आयोजनासँगै थप व्यवस्थित पार्न पलह गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।

धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक बनेको गङ्गाजमुना झरना र माई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

#गङ्गाजमुना_मेला

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट